काठमाडौँ । प्रतिनिधि सभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले प्ले कार्डसहित विरोध जनाएका छन् । संसद्भित्र प्ले कार्ड प्रदर्शन गरेपछि सभामुख डोलप्रसाद अर्याल (डिपी)ले यस्तो शैली दोहोर्याउन नदिन निर्देशन दिएका छन् । तर, सभामुखको आदेशपछि पनि सम्बन्धित सांसदहरू छातीमा पर्चा टाँसेर बैठकमा सहभागी भएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले सुरुमा सभामुखको आसन अगाडि पुगेर प्ले कार्ड देखाएका थिए । त्यसपछि उनीहरू छातीमा पर्चा टाँसेर बैठकमा बसेका थिए ।
घटनापछि सभामुख अर्यालले संसद् कानून निर्माणको महत्वपूर्ण थलो भएकाले विरोध पनि संसदीय मर्यादाभित्र हुनुपर्ने बताएका छन् ।
उनले भने, “प्रतिनिधि सभाको यो सभा साँच्चिकै महत्वपूर्ण हुने र कानून निर्माण गर्ने महत्वपूर्ण थलो हो । विरोध गर्ने विभिन्न शैलीहरू हुन्छन् । तर मर्यादामा बसेर विरोध गर्नुपर्ने हुन्छ । आगामी दिनमा यसलाई आदेशकै रूपमा लिन म जानकारी गराउँछु ।”
सभामुखले प्ले कार्ड र पर्चासहितको विरोध शैलीलाई असंसदीय अभ्यासको रूपमा समेत टिप्पणी गरेका छन् । उनका अनुसार संसद्को नियमावली, कानूनी व्यवस्था वा संसदीय अभ्यासले यस्तो शैलीलाई मान्यता दिएको देखिँदैन ।
“पर्चा देखाएर विरोध गर्ने कुरा न हाम्रो कानून, न नियमावली र न अभ्यासले दिएको देखिन्छ,” सभामुखले भने, “त्यसकारण आगामी दिनमा विरोधको शैली मर्यादापूर्वक ढंगले अपनाउन म जानकारी गराउँछु ।”
सभामुखको निर्देशनपछि पनि श्रम संस्कृती पार्टीका सांसदहरू भने छातीमा पर्चा टाँसेरै बैठकमा बसेका थिए ।
यसअघि विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ स्वयं दिनुपर्ने माग गरेका थिए । तर प्रधानमन्त्री बैठकमा उपस्थित नभएपछि अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारको तर्फबाट जवाफ दिएका थिए ।
प्रतिनिधिसभामा प्रत्येक महिना प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने व्यवस्था रहे पनि जेठ र असार महिनाको संसदीय क्यालेन्डरमा यस्तो कार्यक्रम समावेश गरिएको छैन । यही पृष्ठभूमिमा श्रम संस्कृती पार्टीले संसद्भित्र प्ले कार्डसहित विरोध जनाएको हो ।
सभामुखले भने संसद्मा विरोध गर्न पाइने भए पनि त्यसको शैली संसदीय मर्यादा र अभ्यासअनुकूल हुनुपर्नेमा जोड दिएका छन् ।







