काठमाडौँ । लोक सेवा आयोगले दुई जना उम्मेदवारको नाम अन्तर्वार्ताका लागि प्रकाशित सूचीबाट हटाएको छ ।
केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७२३९/०८२-८३ (आ.प्र.), नेपाल स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूह नवौँ तह, जनस्वास्थ्य प्रशासक पदमा आयोगको सूचना नं. २१७८/०८२-८३, मिति २०८३ वैशाख १५ मा प्रकाशित लिखित परीक्षाको नतिजाबाट अन्तर्वार्ताका लागि छनोट भएका रोल नम्बर ८७००६० का उम्मेदवार योगेशप्रसाद भट्टलाई अन्तर्वार्ता सूचीबाट हटाइएको आयोगले जनाएको छ ।
आयोगका अनुसार भट्ट सुदूरपश्चिम प्रदेश, प्रदेश स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूह, नवौँ तह, जनस्वास्थ्य प्रशासक समान तहको पदमा मिति २०८१ माघ १८ मा सिफारिस भई नियुक्ति लिई कार्यरत रहेको २०८२ माघ २३ को नियुक्ति पत्रबाट पुष्टि भएको छ । समान तहको विज्ञापन नम्बर १७२३९/०८२-८३ (आ.प्र.), स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूह, नवौँ तह, जनस्वास्थ्य प्रशासक पदमा उम्मेदवार कायम राख्न नमिल्ने देखिएको भन्दै लोक सेवा आयोग ऐन, २०७९ को दफा ३८ को उपदफा ३ बमोजिम भट्टको दरखास्त र परीक्षा समेत बदर गरी अन्तर्वार्ताका लागि प्रकाशित सूचीबाट नाम हटाइएको आयोगले स्पष्ट पारेको छ ।
त्यसै गरी आयोगले अर्का उम्मेदवार सिमरन श्रेष्ठको नाम पनि अन्तर्वार्ताका लागि प्रकाशित सूचीबाट हटाएको छ ।
विज्ञापन नम्बर १७२१७/०८२-८३ (आ.ज.), नेपाल स्वास्थ्य सेवा, मेडिसिन समूह, ट्रपिकल मेडिसिन उपसमूह, नवौँ तह, कन्सल्टेण्ट ट्रपिकल मेडिसिन फिजिसियन पदमा आयोगको सूचना नं. २१३५/०८२-८३ मिति २०८३ वैशाख १३ मा प्रकाशित लिखित परीक्षाको नतिजाबाट अन्तर्वार्ताका लागि छनोट भएकी उम्मेदवार सिमरन श्रेष्ठको नाम पनि हटाइएको आयोगले जनाएको छ ।
श्रेष्ठले राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०७७ को नियम २२ को उपनियम ५ तथा सरकारी शिक्षण संस्थाहरूमा चिकित्साशास्त्र छात्रवृत्ति छनौट तथा छात्रवृत्ति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि, २०७२ को दफा १२ को उपदफा १ बमोजिमको शर्त तथा छात्रवृत्तिमा अध्ययन पश्चात् बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको पत्रमा उल्लिखित नियमावली, कार्यविधि र सम्झौता बमोजिम हुने गरी करारमा कामकाज गर्न तोकिएको शर्त समेत उल्लंघन गरेको पुष्टि भएको आयोगले उल्लेख गरेको छ ।
सोही कारण सो पदमा उम्मेदवार हुन अयोग्य देखिएको भन्दै लोक सेवा आयोग ऐन, २०७९ को दफा ३८ को उपदफा ३ बमोजिम दरखास्त र परीक्षा समेत बदर गरी अन्तर्वार्ताका लागि प्रकाशित सूचीबाट उनको नाम हटाइएको आयोगले जनाएको छ ।









