काठमाडौँ । नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता प्रदान गर्ने निर्णय गरेको छ।
सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको गुण्डुस्थित निवासमा बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिएका हुन्।
उनका अनुसार बैठकले भण्डारीको सदस्यता सम्बन्धी निर्णय मात्र गरेको छ भने अन्य समसामयिक विषयमा छलफल भए पनि निष्कर्षमा पुग्न बाँकी रहेको छ। सचिवालयको अर्को बैठक जेठ ८ गते बस्ने तय गरिएको पनि उनले बताए।
यसअघि गत वर्ष साउनको पहिलो साता एमालेले भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेको थियो। पार्टी नेतृत्वसँग सम्बन्धित गतिविधिमा उनको सक्रियता बढेपछि उक्त निर्णय गरिएको राजनीतिक वृत्तमा चर्चा हुँदै आएको थियो।







