काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कृष्णकुमार कार्कीले आफूविरुद्ध सार्वजनिक भएको विदेशी युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको आरोपबारे अनभिज्ञता प्रकट गरेका छन् ।
मंगलबार संसद् भवन परिसरबाट बाहिरिने क्रममा सञ्चारकर्मीले सो विषयमा जिज्ञासा राख्दा कार्कीले आफूलाई त्यसबारे केही थाहा नभएको प्रतिक्रिया दिएका हुन् ।
जनआस्थाले सार्वजनिक गरेको समाचारबारे प्रश्न गर्दा उनले विस्तृत प्रतिक्रिया दिन चाहेनन् । बरु आफूलाई उक्त विषयबारे जानकारी नभएको भन्दै छोटो प्रतिक्रिया दिए ।
मोरङ निर्वाचन क्षेत्र नम्बर-२ बाट निर्वाचित कार्कीमाथि एक नाइजेरियन महिलालाई गर्भवती बनाएर सम्पर्कविहीन भएको आरोपसम्बन्धी समाचार सार्वजनिक भएपछि उनीमाथि प्रश्न उठ्न थालेका छन् ।
यसबीच प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा सभामुख डोलप्रसाद अर्यालले शून्य समयका लागि सांसदहरूलाई बोलाउने क्रममा कार्कीको नाम तीनपटकसम्म उच्चारण गरेका थिए । तर, उनको उपस्थिति भने बैठक कक्षमा देखिएको थिएन ।
शून्य समयमा सांसदहरूले आ-आफ्ना धारणा राखिरहेका बेला सभामुखले कार्कीको नाम पटक-पटक बोलाए पनि उनी उपस्थित नभएपछि त्यसले समेत चासो बढाएको थियो ।
जनआस्थाले कार्कीसँग सम्बन्धित गम्भीर प्रकृतिको सूचना सार्वजनिक गर्दै विदेशी महिलालाई गर्भवती बनाएर फरार भएको आरोपसम्बन्धी समाचार बाहिरिए लगत्तै उनी संसद् भवनबाट बाहिरिएको दाबी गरेको छ । उक्त जानकारी सभामुखसम्म नपुगेको अवस्थामा बैठकमा उनको नाम तीनपटकसम्म पढिएको बताइएको छ ।
उक्त विषय सार्वजनिक भएपछि संसद् परिसरमा सञ्चारकर्मीहरूले कार्कीसँग जिज्ञासा राखेका थिए । तर उनले आरोपबारे आफू अनभिज्ञ रहेको प्रतिक्रिया दिएका छन् ।







