काठमाडौँ। प्रस्तावित प्रधान न्यायाधीश डा. मनोज कुमार शर्माको संसदीय सुनुवाइका क्रममा नेकपाका सांसद वर्षमान पुनले विभिन्न विषयमा प्रश्न उठाएका छन् ।
संसदीय सुनुवाइ समितिमा जारी छलफलका क्रममा सांसदहरूले प्रस्तावित प्रधान न्यायाधीशसँग न्यायपालिकाको कार्यशैली, सुशासन र सुधारसम्बन्धी विषयमा जिज्ञासा राखिरहेका छन् ।
सोही क्रममा सांसद पुनले न्यायपालिका भित्र देखिएका भनिएका चुनौती, संस्थागत अभ्यास तथा सुधारका सम्भावित उपायबारे प्रश्नहरू उठाएका हुन् ।
उनले न्यायिक नियुक्ति र कार्यसम्पादनमा पारिवारिक प्रभाव तथा समूहगत पक्षपातको आरोपबारे धारणा स्पष्ट गर्न आग्रह गरेका छन् । साथै न्याय सम्पादन प्रक्रियामा देखिएका प्रश्नहरूले न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाप्रति नागरिक विश्वास किन कमजोर हुँदै गएको हो भन्ने विषयमा पनि उनको जिज्ञासा रहेको छ ।
सांसद पुनले भ्रष्टाचारसम्बन्धी विभिन्न प्रतिवेदनमा उल्लेख भएका विषयहरूलाई स्मरण गर्दै न्यायपालिकाभित्र सुशासन कायम गर्न के–कस्ता सुधार आवश्यक छन् भन्नेबारे प्रस्तावित प्रधानन्यायाधीशको दृष्टिकोण माग गरेका छन् ।
त्यसैगरी संक्रमणकालीन न्यायसम्बन्धी प्रक्रियाप्रति उनको दृष्टिकोण के हो भन्ने प्रश्न पनि उनले उठाएका छन् ।
सांसद पुनले विकास निर्माणका परियोजनामा अदालतबाट जारी हुने अन्तरिम आदेश तथा स्टे अर्डरका कारण काम प्रभावित हुने अवस्थाप्रति चिन्ता व्यक्त गर्दै न्यायालयलाई विकासमैत्री बनाउन कस्तो नीति आवश्यक पर्छ भन्नेबारे समेत स्पष्ट धारणा राख्न आग्रह गरेका छन् ।







