काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता गणेश पराजुलीले पार्टी सभापति रवि लामिछानेको नेतृत्वको विकल्प पार्टीभित्र वा जनस्तरमा पनि नखोजिएको दाबी गरेका छन् ।
संघीय संसद् परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीभित्र विभिन्न राजनीतिक समूह समाहित भए पनि सबैको साझा उद्देश्य राष्ट्र निर्माण भएकाले गुट-उपगुटको सम्भावना नरहेको स्पष्ट पारे ।
आगामी महाधिवेशनबारे टिप्पणी गर्दै पराजुलीले सभापति लामिछानेको नेतृत्वलाई लिएर विकल्पको बहस नचलेको उल्लेख गरे । उनका अनुसार पार्टी मात्र होइन, आम नागरिक तहमा पनि नेतृत्व परिवर्तनको माग देखिएको छैन ।
रास्वपा राष्ट्रिय महाधिवेशन असार ७ देखि ९ गतेसम्म हुने तयारी रहेको उल्लेख गर्दै उनले उक्त महाधिवेशनले लोकतान्त्रिक प्रक्रियामार्फत सबै संस्थागत जिम्मेवारी स्पष्ट गर्ने बताए ।
संसदको बजेट छलफल र विधेयक प्रक्रियाबारे टिप्पणी गर्दै उनले यस पटक विनियोजन विधेयक तथा नीति तथा कार्यक्रममाथिको छलफल समयका हिसाबले छोटो भए पनि प्रभावकारी रहेको धारणा राखे ।
उनका अनुसार पहिले लामो समय चल्ने छलफल यस पटक छोटो अवधिमा सम्पन्न भए पनि यसलाई सरकारको दबाबका रूपमा होइन, कार्यपालिका र व्यवस्थापिकाबीच कार्यगत गति बढाउने प्रयासका रूपमा बुझ्नुपर्ने हुन्छ ।
प्रधानमन्त्रीको संसद् अनुपस्थितिबारे उठेका प्रश्नको जवाफ दिँदै पराजुलीले प्रधानमन्त्री आफ्ना संवैधानिक जिम्मेवारी पूरा गर्न तथा आवश्यक विषय प्रस्तुत गर्न सक्रिय रूपमा संलग्न रहेको बताएका छन् ।







