काठमाडौँ । नेपाल-भारत सीमा सम्बन्धी विषयमा प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्तिप्रति नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता डा. भीम रावलले आपत्ति जनाएका छन्। उनले प्रधानमन्त्रीको भनाइलाई गम्भीर विषयसँग जोडिएको भन्दै त्यसबारे स्पष्ट जवाफ दिनुपर्ने माग गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै रावलले मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय सुरक्षाको संरक्षण सरकारको प्रमुख दायित्व भएको उल्लेख गरेका छन्। यस्ता विषयमा तथ्यगत आधारबिना अभिव्यक्ति दिनु उपयुक्त नहुने उनको भनाइ छ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा प्रधानमन्त्री शाहले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा नेपालले पनि भारतको केही भूमि उपयोग गरेको विषय आफूले प्रधानमन्त्री बनेपछि थाहा पाएको बताएका थिए। उक्त अभिव्यक्तिलाई लिएर विभिन्न राजनीतिक व्यक्तित्वहरूबाट प्रतिक्रिया आउने क्रम जारी छ।
रावलले प्रधानमन्त्रीको भनाइले नेपालको सीमा र भूगोलसम्बन्धी विषयमा थप स्पष्टता आवश्यक बनाएको बताएका छन्। उनले नेपालले भारतको भूमि कहाँ, कति र कुन आधारमा अतिक्रमण गरेको भन्ने दाबी गरिएको हो भने त्यसबारे सरकारले तथ्यसहित जानकारी दिनुपर्ने माग गरेका छन्।
उनले राष्ट्रिय हितसँग सम्बन्धित विषयमा सरकारको स्पष्ट धारणा सार्वजनिक हुनुपर्ने उल्लेख गर्दै देशवासीलाई भ्रममा पार्ने अवस्था आउन नदिन प्रधानमन्त्रीले आफ्नो भनाइबारे थप स्पष्टीकरण दिनुपर्ने धारणा व्यक्त गरेका छन्।
रावलले प्रधानमन्त्री आबद्ध राष्ट्रिय स्वतन्त्र पार्टीका नेतृत्व, सांसद तथा सम्बन्धित पक्षले पनि यस विषयमा आफ्नो आधिकारिक दृष्टिकोण सार्वजनिक गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। सीमा सम्बन्धी विषय राष्ट्रिय सरोकारको भएकाले त्यसबारे तथ्य, प्रमाण र स्पष्ट नीतिका आधारमा छलफल हुनुपर्नेमा उनले जोड दिएका छन्।







