काठमाडौँ। गृह मन्त्रालयको निर्णय अनुसार नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) स्तरका ३३ जना अधिकृतहरूको सरुवा भएको छ। सोही सरुवा अन्तर्गत जिल्ला प्रहरी परिसर काठमाडौँ र ललितपुरका प्रमुख समेत परिवर्तन भएका छन्।
आज (सोमबार) गरिएको मन्त्रालयस्तरीय निर्णयलाई आधार मान्दै नेपाल प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभागले साँझ सरुवा विवरण सार्वजनिक गरेको हो।
सरुवा अनुसार हाल जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत एसएसपी रमेश थापालाई त्यहाँबाट हटाई मधेस प्रदेश प्रहरी कार्यालयअन्तर्गत शान्ति–सुरक्षा महाशाखा, जनकपुर (धनुषा) पठाइएको छ। साथै उनलाई प्रहरी प्रधान कार्यालयअन्तर्गत अनुसन्धान, योजना तथा विकास निर्देशनालयमा काजमा राखिएको जानकारी पनि दिइएको छ।
त्यस्तै, जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी होविन्द्र बोगटीलाई सरुवा गरी प्रहरी प्रधान कार्यालयअन्तर्गत राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखा, नक्सालमा जिम्मेवारी तोकिएको छ।













