काठमाडौँ । विशेष अदालतले घुस तथा कमिसन लिएको अभियोगमा मधेश प्रदेश सभा सदस्य सरोजकुमार सिंह कुशवाहालाई दोषी ठहर गर्दै कैद तथा जरिवानासहितको सजाय निर्धारण गरेको छ ।
विशेष अदालतको अध्यक्षता सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले गत जेठ ४ गते भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत उनलाई दोषी ठहर गरेको थियो । सोही आधारमा आज सजाय निर्धारण गर्दै अदालतले ४ वर्ष १ महिना कैद सजाय तोकेको हो ।
अदालतका अनुसार कुशवाहाले विभिन्न उपभोक्ता समितिहरूबाट घुस तथा कमिसन स्वरूप कुल ३८ लाख ५० हजार १ सय ३९ रुपैयाँ प्राप्त गरेको प्रमाणित भएको थियो । सोही रकमलाई भ्रष्टाचारको बिगो मानी कैद र जरिवाना निर्धारण गरिएको हो ।
फैसलामा उल्लेख भएअनुसार वारदातको समयमा महोत्तरी निर्वाचन क्षेत्र नं. ४ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य रहेका कुशवाहाले सार्वजनिक पदको दुरुपयोग गरेको ठहर गरिएको छ । सोही आधारमा भ्रष्टाचार निवारण ऐनको दफा २४ अनुसार थप १ महिना कैद सजाय पनि तोकिएको छ ।
यसैगरी अदालतले प्राप्त घुस रकम बराबरको ३८ लाख ५० हजार १ सय ३९ रुपैयाँ जफत गरी असुलउपर गर्न आदेश दिएको छ । साथै अपराध पीडित संरक्षण ऐन, २०७५ अनुसार १ लाख ५४ हजार ५ सय ५ रुपैयाँ ५६ पैसा क्षतिपूर्ति शुल्क असुल गरी पीडित राहत कोषमा जम्मा गर्न पनि निर्देशन दिइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न उपभोक्ता समितिहरूबाट कमिसन तथा घुस लिएको आरोपसहित कुशवाहाविरुद्ध मुद्दा दायर गरेको थियो । अदालतले आरोप पुष्टि भएपछि उनलाई दोषी ठहर गर्दै सजायको अन्तिम निर्णय सुनाएको हो ।







