काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले प्रतिनिधि सभामा जारी अवरोध अन्त्यका लागि स्पष्ट राजनीतिक निर्णय आवश्यक रहेको बताएकी छन्।
प्रतिनिधि सभा बैठकमा आफ्नो धारणा राख्दै उनले सदन अवरोधको जिम्मेवारी एकतर्फी रूपमा विपक्षीमाथि थोपर्न नहुने भन्दै परिस्थितिको वास्तविकता फरक रहेको दाबी गरिन्।
उनका अनुसार सदन सञ्चालन सहज बनाउन सत्तापक्षले प्रधानमन्त्रीले दिएको भनिएको अभिव्यक्तिबारे आफ्नो स्पष्ट दृष्टिकोण सार्वजनिक गर्नुपर्ने आवश्यकता छ। ओलीले समाधानका लागि दुई वटा विकल्प प्रस्तुत गर्न सकिने बताउँदै राजनीतिक सहमतिमार्फत निष्कर्षमा पुग्नुपर्ने धारणा राखिन्।
उनले सत्तापक्ष प्रधानमन्त्रीको भनाइसँग सहमत भएमा त्यसलाई औपचारिक रूपमा स्वीकार गर्दै अगाडि बढ्न सकिने विकल्पसमेत अघि सारिन्। उनका अनुसार यस्तो अवस्थामा सम्बन्धित विषयमा राजनीतिक रूपमा स्पष्ट धारणा बनाइ सदनको अवरोध हटाउन सकिन्छ।
ओलीले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रस्टीकरण नदिएसम्म संसद् सामान्य रूपमा सञ्चालन हुने अवस्था नबन्ने निष्कर्षसमेत व्यक्त गरेकी छन्।







