काठमाडौँ । नेपाली काँग्रेसले प्रधानमन्त्रीको संसदमा उपस्थितिलाई लिएर जारी बहस अब निर्णायक मोडमा पुगेको बताउँदै त्यस विषयलाई अनावश्यक रूपमा लम्ब्याउन नहुने धारणा व्यक्त गरेको छ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्रीको उपस्थिति वा अनुपस्थितिले अब संसद्को कार्यसूची प्रभावित हुन नहुने टिप्पणी गरे। उनका अनुसार वर्तमान विवादलाई थप तन्काएर राष्ट्रिय हितमा असर पर्ने अवस्था सिर्जना गर्नु उपयुक्त हुँदैन।
उनले प्रधानमन्त्रीको हालैको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसलाई राजनीतिक र संवैधानिक दृष्टिले गम्भीर रूपमा लिनुपर्ने बताए। साथै, संसद् अवरोधका कारण अनावश्यक रूपमा समय र संसदीय ऊर्जा खेर गइरहेको पनि उनले उल्लेख गरे।
आङ्देम्बेका अनुसार पार्टीभित्रै पनि प्रधानमन्त्रीमाथि कडा राजनीतिक दबाब सिर्जना गर्ने विषयमा बहस भएको थियो। तर, राष्ट्रहितलाई प्राथमिकतामा राख्दै विवादलाई अत्यधिक विस्तार नगर्ने निष्कर्षमा पुगेको उनले बताए।
उनले सीमा सम्बन्धी विषय लामो समयसम्म अनिर्णीत रहँदा राष्ट्रिय संवेदनशीलता प्रभावित हुन सक्ने भन्दै प्रधानमन्त्रीले संसदमा उपस्थित भई स्पष्ट धारणा दिनुपर्ने आवश्यकता अझै कायम रहेको धारणा व्यक्त गरे।
आङ्देम्बेले प्रधानमन्त्रीको भनाइ इतिहासमा दर्ज हुने भएकाले त्यसलाई हल्का रूपमा नलिनुपर्ने पनि उल्लेख गरेका छन्।







