काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले राष्ट्रिय सीमा, सार्वभौमिकता र भूअखण्डताजस्ता विषयमा संसद्भित्र मतभिन्नता देखिएकोप्रति चिन्ता व्यक्त गरेको छ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा धारणा राख्दै पार्टीका सांसद प्रमेश हमालले सीमासम्बन्धी विषयमा नेपाली समाज र राजनीतिक दलहरू यसअघि कहिल्यै यसरी विभाजित नभएको बताए।
उनले राष्ट्रिय हितसँग जोडिएका विषयमा साझा दृष्टिकोण आवश्यक रहेको उल्लेख गर्दै अहिले संसद्मा विभाजित भएर छलफल गर्नुपर्ने अवस्था सिर्जना भएको बताए।
सांसद हमालले प्रधानमन्त्री वालेन्द्र शाहले जेठ १७ गते प्रतिनिधिसभामा व्यक्त गरेको धारणाका कारण यस्तो परिस्थिति उत्पन्न भएको दाबी गरे। उनका अनुसार उक्त अभिव्यक्ति नेपालको भू-अखण्डता र राष्ट्रिय स्वाभिमानसँग सम्बन्धित विषय भएकाले यसबारे प्रधानमन्त्रीले सार्वजनिक रूपमा माफी माग्नुपर्ने आवश्यकता छ।
उनले प्रधानमन्त्रीको सो भनाइ संसद्को अभिलेखबाट हटाउनुपर्ने मागसमेत राखेका छन्।







