काठमाडौँ । नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले पुँजी बजारको विकासमा योगदान बढाउन नयाँ वित्तीय उपकरणहरूमा समेत लगानी विस्तार गर्न कोषले खोजिरहेको बताएका छन् ।
नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि प्रतिनिधि सभा अर्थ समितिमा भएको सैद्धान्तिक छलफलमा उहाँले पुँजी बजारमा कोषको भूमिका थप प्रभावकारी बनाउन नयाँ वित्तीय उपकरणमा लगानी गर्ने व्यवस्था ऐनमै समेट्न खोजिएको बताए । उनकाअनुसार नागरिक लगानी कोषको लगानीलाई परम्परागत क्षेत्रबाट विस्तार गर्दै पुँजी बजारका नयाँ वित्तीय उपकरणसम्म पुर्याउन आवश्यक छ । यसले पुँजी बजारको विकासमा योगदान पुर्याउनुका साथै उपलब्ध पुँजीलाई विभिन्न उत्पादनशील क्षेत्रमा परिचालन गर्ने अवसर सिर्जना गर्नेछ । कार्कीले कोषको लगानी क्षमता र कार्यक्षेत्र विस्तारसँगै सञ्चालनका क्रममा देखिएका व्यावहारिक तथा संस्थागत समस्याहरू समाधान गर्न पनि ऐन संशोधन आवश्यक रहेको बताए । कोषको दैनिक सञ्चालनमा देखिएका कमीकमजोरी सुधार गर्ने र महालेखा परीक्षकको कार्यालयबाट हुने लेखा परीक्षणका क्रममा औँल्याइएका कैफियत सम्बोधन गर्ने विषयलाई समेत संशोधन प्रक्रियामा समेटिएको उनले जानकारी दिए ।
उनले भने,‘हामीलाई संस्थागत रूपमा खड्किएको एउटा महत्त्वपूर्ण कुरा के हो भने छरिएर रहेको बचत संकलन गरी राष्ट्र निर्माणमा पुँजी परिचालन गर्ने उद्देश्यका साथ यो ऐन बनेको हो । तर, प्राथमिकता प्राप्त क्षेत्र र परियोजना कर्जामा हाम्रो ठूलो लगानी हुन नसकिरहेको अवस्था छ । त्यसलाई सहजीकरण गर्न र पुँजी बजारको विकासमा पनि योगदान पुर्याउनुपर्छ भन्ने हाम्रो उद्देश्य हो । नागरिक लगानी कोष ऐनको सन्दर्भमा पुँजी बजारमा हामीले कसरी योगदान बढाउन सक्छौँ भन्ने आशयका साथ पुँजी बजारका नयाँ वित्तीय उपकरणहरूमा पनि लगानी विस्तार गर्नुपर्छ भन्ने विषयलाई महत्त्वपूर्ण रूपमा लिइएको छ । त्यसैगरी, हाम्रा सञ्चालनसम्बन्धी कामकारबाहीमा देखिएका केही कमीकमजोरी सुधार गर्नुपर्ने आवश्यकता छ । महालेखा परीक्षकको कार्यालयबाट लेखापरीक्षण हुँदा औँल्याइएका केही कैफियतहरू पनि सुधार गर्नुपर्नेछ । त्यस्तै, हाम्रो ऐनमा कार्यकारी निर्देशक तथा सञ्चालक समितिको काम, कर्तव्य र अधिकार स्पष्ट रूपमा विस्तृत व्याख्या गरिएको अवस्था छैन । यी सबै कुरालाई ध्यानमा राखेर ऐन संशोधनको प्रक्रिया करिब दुई वर्षअघिदेखि नै अभ्यास गर्दै अगाडि बढाएका हौँ ।’
उनका अनुसार कोषको संस्थागत संरचना र जिम्मेवारीलाई थप स्पष्ट बनाउने उद्देश्य पनि संशोधन विधेयकले राखेको छ । हालको ऐनमा कार्यकारी निर्देशक तथा सञ्चालक समितिको काम, कर्तव्य र अधिकार विस्तृत रूपमा स्पष्ट नभएकाले त्यसलाई कानूनमै व्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको कार्कीले बताए । उनका अनुसार सञ्चालक समिति र कार्यकारी व्यवस्थापनबीचको जिम्मेवारी स्पष्ट पार्नुका साथै संस्थागत सुशासन, पारदर्शिता र व्यवस्थापकीय जबाफदेहितालाई प्रभावकारी बनाउन संशोधन आवश्यक भएको हो ।
नागरिक लगानी कोषको मूल उद्देश्य छरिएर रहेको बचतलाई एकीकृत गरी राष्ट्र निर्माणका लागि परिचालन गर्नु रहेकाले बदलिँदो वित्तीय बजार र लगानीका अवसरअनुसार कोषको कार्यक्षेत्र तथा लगानीका उपकरणहरू विस्तार गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।






