काठमाडौँ । लोक सेवा आयोगले च्याटजीपीटी प्रयोग गरी परीक्षा दिएको अभियोगमा एक उम्मेदवारको परीक्षा रद्द गरेको छ ।
नेपाल प्रहरीको विज्ञापन नं. ०५/०८२-८३ अन्तर्गत प्रहरी निरीक्षक (जनपद) पदका लागि २०८३ जेठ २३ गते विजय स्मारक माध्यमिक विद्यालय (क) केन्द्रमा सञ्चालित परीक्षामा संखुवासभा जिल्लाको चैनपुर नगरपालिका–९ निवासी रोहितकुमार राईले प्रश्न पत्रको तस्बिर खिची राम राईलाई मोबाइल सन्देश आदानप्रदान माध्यम ‘ह्वाट्सएप’ मार्फत पठाएको पाइएको आयोगले जनाएको छ ।
आयोगका अनुसार राम राईले च्याटजीपीटी प्रयोग गरी प्राप्त उत्तर मोबाइलमार्फत रोहितकुमार राईलाई पठाएका थिए । यस कार्यबाट लोक सेवा आयोग ऐन, २०७९ को दफा ४१ (१) बमोजिम कसुर गरेको ठहर गर्दै सोही ऐनको दफा ४१ (२) अनुसार रोहितकुमार राईको उक्त विज्ञापनअन्तर्गतको सम्पूर्ण परीक्षा रद्द गर्ने निर्णय गरिएको हो ।
साथै आयोगले उनलाई आगामी तीन वर्षसम्म आयोगबाट सञ्चालन हुने कुनै पनि प्रकारका परीक्षामा उम्मेदवार हुन नपाउने गरी प्रतिबन्ध लगाउने निर्णय गरेको जनाएको छ । उक्त निर्णय २०८३ जेठ २६ गते गरिएको आयोगले जनाएको छ ।







