काठमाडौँ । सेवा-सुविधाबाट वञ्चित गराइएको भन्दै वीर अस्पतालमा कार्यरत करार कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्।
विगतदेखि प्राप्त गर्दै आएको सेवा–सुविधा कटौती गरिएको तथा श्रम शोषण भएको आरोप लगाउँदै कर्मचारीहरूले शुक्रबारदेखि आन्दोलन सुरु गरेका हुन्। उनीहरूले आफ्ना माग सम्बोधन नभए शनिबारदेखि थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन्।
वीर अस्पताल स्रोतका अनुसार आन्दोलनरत कर्मचारीहरूले हाल अस्पताल निर्देशकको कार्यकक्ष अगाडि धर्ना दिइरहेका छन्। कर्मचारीहरूले सेवा–सुविधा सुनिश्चित गर्न र आफ्ना माग तत्काल सम्बोधन गर्न अस्पताल प्रशासनसँग आग्रह गरेका छन्।
अस्पतालमा करिब ४५० बढी करार कर्मचारी विभिन्न फाँटमा कार्यरत छन् ।



