काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले कुवेतका विभिन्न कारागार तथा अन्य कठिन परिस्थितिमा रहेका नेपाली महिलाको उद्धारका लागि तत्काल पहल गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले वैदेशिक रोजगारीको सिलसिलामा कुवेत पुगेका केही नेपाली महिलाले अमानवीय अवस्था र गम्भीर कठिनाइ भोगिरहेको बताइन्। त्यहाँ रहेका नेपाली महिलाको अवस्थाबारे राज्यले विशेष चासो दिनुपर्ने आवश्यकता औँल्याइन्।
सांसद ओलीले कुवेतमा समस्यामा परेकी एक नेपाली महिला शर्मिला दर्जीलाई विभिन्न निकायसँगको समन्वय र प्रयासपछि स्वदेश फर्काउन सफल भएको जानकारी दिइन्। उक्त प्रक्रियाका क्रममा अन्य नेपाली महिलाहरू पनि जटिल अवस्थाबाट गुज्रिरहेको तथ्य आफूले नजिकबाट देखेको उनको भनाइ थियो।
उनले यस विषयलाई प्रतिनिधि सभामा पटक-पटक उठाउँदै आएको उल्लेख गर्दै नेपाली राजदूतावाससँगको निरन्तर समन्वयपछि उद्धार सम्भव भएको बताइन्।
कुवेतमा विभिन्न कारणले समस्यामा परेका नेपाली महिलाको सुरक्षा, उद्धार तथा स्वदेश फिर्तीका लागि सरकारले प्रभावकारी कूटनीतिक र प्रशासनिक पहल गर्नुपर्ने माग उनले राखिन्।







