काठमाडौँ । सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधान एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई काठमाडौँ ल्याएर सम्पत्ति शुद्धीकरण विभागमा उपस्थित गराइएको छ।
विभाग स्रोतका अनुसार पौडेललाई केहीबेरअघि विभागमा पुर्याइएको हो। उनीमाथि भइरहेको अनुसन्धानका क्रममा आवश्यक बयान तथा अन्य प्रक्रिया अघि बढाउन विभागमा उपस्थित गराइएको जनाइएको छ।
पक्राउ परेका पौडेललाई आजै म्याद थपका लागि अदालत उपस्थित गराउने तयारी गरिएको छ। अनुसन्धानसँग सम्बन्धित कानुनी प्रक्रिया पूरा गर्न अदालतबाट म्याद थप मागिने तयारी रहेको स्रोतले जनाएको छ।
विभाग सम्बद्ध उच्च स्रोतका अनुसार पौडेलले गरेको सेयर कारोबार तथा सम्पत्तिको स्रोतबारे उठेका शंकाका आधारमा अनुसन्धान अघि बढाइएको हो। सोही अनुसन्धानका क्रममा उनलाई आइतबार सुर्खेतबाट नियन्त्रणमा लिइएको बताइएको छ।
पार्टी कार्यक्रमका लागि सुर्खेत पुगेका पौडेललाई प्रहरीले नियन्त्रणमा लिएपछि राति नै स्थलमार्गबाट काठमाडौँ ल्याएको थियो।
यसअघि उनलाई नियन्त्रणमा लिनुअघि सम्पत्ति शुद्धीकरण विभागको टोलीले काठमाडौँस्थित उनको निवासमा समेत खानतलासी गरेको थियो।
अनुसन्धान जारी रहेकाले विभागले यस विषयमा औपचारिक विवरण सार्वजनिक गरिसकेको छैन।






