काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरी वातावरण संरक्षण, जलवायु परिवर्तन तथा दिगो विकाससम्बन्धी उच्चस्तरीय अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आइतबार थाइल्यान्ड प्रस्थान गरेकी छन्।
मन्त्री चौधरीले जुन २९ देखि जुलाई ३ सम्म थाइल्यान्डको बैंककमा आयोजना हुने पाँच दिने अन्तर्राष्ट्रिय सम्मेलनका विभिन्न सत्रमा नेपालको प्रतिनिधित्व गर्नेछिन्।
भ्रमणका क्रममा उनले जुन २९ र ३० मा आयोजना हुने पेरिस सम्झौता र सन् २०३० को दिगो विकास एजेन्डाबीचको समन्वय सुदृढीकरणसम्बन्धी सातौँ विश्व सम्मेलनको उच्चस्तरीय सत्रमा सहभागिता जनाउने कार्यक्रम छ। उक्त सत्रमा जलवायु परिवर्तन न्यूनीकरण, पेरिस सम्झौताको प्रभावकारी कार्यान्वयन तथा दिगो विकास लक्ष्य (एसडीजी) सँगको समन्वयलाई सुदृढ बनाउने विषयमा उच्चस्तरीय छलफल हुनेछ।
यस्तै, जुलाई १ देखि ३ सम्म सञ्चालन हुने वातावरण तथा विकास समितिको नवौँ मन्त्री स्तरीय बैठकमा पनि मन्त्री चौधरी सहभागी हुने कार्यक्रम तय भएको छ। बैठकमा वातावरण संरक्षण, जलवायु अनुकूलन, हरित अर्थतन्त्रको प्रवर्द्धन तथा दिगो विकाससँग सम्बन्धित क्षेत्रीय र अन्तर्राष्ट्रिय चुनौती तथा समाधानका विषयमा छलफल हुनेछ।
सम्मेलनका क्रममा मन्त्री चौधरीले नेपालको तर्फबाट जलवायु परिवर्तनका असर, हिमाली मुलुकले सामना गरिरहेका चुनौती, वातावरण संरक्षणका लागि नेपालले अवलम्बन गरेका प्रयास तथा दिगो विकासप्रतिको राष्ट्रिय प्रतिबद्धताबारे धारणा राख्ने कार्यक्रम रहेको छ।






