काठमाडौँ । बाँकेको कोहलपुर नगरपालिका-४ गोहवामा आफ्नै सहोदर दाइको हत्या गरी शव नहरमा फालेको आरोपमा एक युवक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार २० वर्षीय विनोद चौधरीले आफ्ना अन्दाजी २६ वर्षीय सहोदर दाइ मनोज चौधरीलाई कुटपिट गरी हत्या गरेका थिए। घटनापछि उनले शव नहरमा फालेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार हत्यापछि फरार भएका बिनोदलाई आज बिहान करिब ६:३० बजे भारततर्फ भाग्दै गरेको अवस्थामा कोहलपुर नगरपालिका-१५ चनहवाबाट पक्राउ गरिएको हो।
मृतक मनोज चौधरीको शव पोस्टमार्टमका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ।
घटनाको कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।







