काठमाडौँ । अत्यधिक वर्षाको पूर्वानुमान र सम्भावित विपद् जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय बैतडीले जिल्लाभित्रका कच्ची सडकमा रातिको समयमा सवारी सञ्चालन अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ।
कार्यालयका अनुसार जल तथा मौसम विज्ञान विभागले असार १६ र १७ गते अत्यधिक वर्षा हुने पूर्वानुमान सार्वजनिक गरेको छ। साथै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सतर्कता अपनाउन आग्रह गरेपछि जोखिम न्यूनीकरणका लागि उक्त निर्णय गरिएको हो।
निर्णयअनुसार असार १६ र १७ गते बेलुका ६ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म जिल्लाका सबै कच्ची सडकमा सवारीसाधन सञ्चालन गर्न नपाइने जनाइएको छ ।
प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईद्वारा जारी सूचनामा सम्भावित वर्षाका कारण सडक दुर्घटना तथा अन्य विपद् जोखिमबाट जोगिन सर्वसाधारणलाई प्रशासनको निर्णय पालना गर्न आग्रह गरिएको छ।







