काठमाडौँ । सर्वोच्च अदालतले गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दामा दुग्ध विकास संस्थानका तत्कालीन प्रबन्ध निर्देशक शत्रुघ्नप्रसाद साहलाई दोषी ठहर गरेको विशेष अदालतको फैसला सदर गरेको छ।
न्यायाधीश विनोद शर्मा र शान्तिसिंह थापाको संयुक्त इजलासले विशेष अदालतले गरेको निर्णयलाई सदर गर्दै साहले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोग पुष्टि हुने ठहर गरेको हो।
यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७३ वैशाखमा साह र उनकी पत्नी सुशीला कुमारी साहविरुद्ध दुई करोड ३८ लाख रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
उक्त मुद्दामा विशेष अदालतले २०७५ पुसमा साहलाई ६८ लाख २४ हजार रुपैयाँ बराबर गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर गर्दै सोही बराबर जरिवाना र नौ वर्ष कैद सजाय सुनाएको थियो।
अनुसन्धानका क्रममा साहले दुग्ध विकास संस्थानमा प्राविधिक अधिकृतदेखि विभिन्न आयोजना प्रमुख हुँदै प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्ने अवधिमा वैध स्रोतबाट करिब एक करोड ४४ लाख रुपैयाँ आम्दानी गरेको देखिएको थियो। तर सोही अवधिमा तीन करोड ८३ लाख रुपैयाँ बराबरको सम्पत्ति जोडिएको भन्दै वैध आम्दानीको तुलनामा अस्वाभाविक रूपमा सम्पत्ति वृद्धि भएको निष्कर्षसहित आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
विशेष अदालतको फैसला भएको करिब साढे सात वर्षपछि सर्वोच्च अदालतले उक्त निर्णयलाई यथावत् राख्दै साहविरुद्धको दोष कायम गरेको हो।






