काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले पहाडी क्षेत्रका अधिकांश विमानस्थलमा नियमित हवाई सेवा सञ्चालन हुन नसक्नुको प्रमुख कारण यात्रुको न्यून संख्या रहेको बताएका छन्।
बुधबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले विभिन्न पहाडी विमानस्थलबाट प्राप्त विवरणले नियमित उडानमा देखिएको अवरोधको मुख्य कारण पर्याप्त यात्रु नहुनु रहेको देखाएको बताए।
उनका अनुसार मुलुकभर ५५ वटा विमानस्थल रहेकामा हाल ३४ वटा सञ्चालनयोग्य अवस्थामा छन् भने २१ वटा विमानस्थल बन्द रहेका छन्।
मन्त्री पौडेलले सुनथराली विमानस्थलसहित पहाडी जिल्लाका अन्य विमानस्थलमा नियमित यात्रु सुनिश्चित भए आवश्यक प्राविधिक जनशक्ति, सञ्चार उपकरण तथा अन्य पूर्वाधार व्यवस्थापन गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे।
उनले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग आवश्यक प्राविधिक जनशक्ति र उपकरणको अभाव नरहेको उल्लेख गर्दै उडान नै नहुने विमानस्थलमा जनशक्ति निष्क्रिय राख्नुभन्दा सञ्चालनमा रहेका विमानस्थलमा परिचालन गरिएको जानकारी दिए।







