काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले नेपाल वायुसेवा निगमका सबै कर्मचारीलाई व्यावसायिकता, इमान्दारिता र जिम्मेवारीका साथ सेवा प्रवाह गर्न निर्देशन दिएका छन्।
निगमको ६८औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले राष्ट्रिय ध्वजावाहकको संस्थागत सुदृढीकरणका लागि कर्मचारीको कार्यसम्पादन, अनुशासन र उत्तरदायित्वलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याए।
उनले निगमको विकासमा समर्पित, नैतिक र जिम्मेवार कर्मचारीको वृत्ति विकासमा मन्त्रालयले प्राथमिकता दिने स्पष्ट पार्दै अनियमिततामा संलग्न जोसुकैलाई कानुनबमोजिम कारबाही गरिने बताए। राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै पक्ष इमान्दार भएर लाग्नुपर्ने उनको भनाइ थियो।
मन्त्री पौडेलले निगमलाई सुदृढ र प्रतिस्पर्धी संस्थाका रूपमा विकास गर्न मन्त्रालयबाट आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
कार्यक्रममा मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले विगतका अनुभवबाट पाठ सिक्दै स्पष्ट कार्यदिशासहित निगमलाई अघि बढाउन सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताए।
निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले चुनौतीका बीच पनि पछिल्लो समय यात्रु संख्या र संस्थाको आम्दानीमा वृद्धि भएको उल्लेख गर्दै यसलाई सकारात्मक उपलब्धिका रूपमा प्रस्तुत गरे।
कार्यक्रमका अवसरमा मन्त्री पौडेलले निगमद्वारा प्रकाशित वार्षिक विशेषांक ‘आकाश भैरव’ को विमोचन गरेका थिए। वार्षिकोत्सवका अवसरमा निगमको केन्द्रीय कार्यालयबाट जुद्ध शालिक हुँदै पुनः कार्यालयसम्म प्रभातफेरी कार्यक्रमसमेत आयोजना गरिएको थियो।







