काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वले दीर्घकालीन राजनीतिक उद्देश्यभन्दा तत्कालीन सत्ता र पदमुखी अभ्यासलाई प्राथमिकता दिँदा वैचारिक तथा रणनीतिक विचलन भएको बताएका छन्।
पोखरामा आयोजित पार्टी भेलालाई सम्बोधन गर्दै उनले शान्ति प्रक्रिया र संविधान निर्माणलाई राजनीतिक रूपमा ऐतिहासिक उपलब्धि भएको उल्लेख गरे। तर, त्यसपछिको चरणमा पार्टीले रणनीतिक दिशाभन्दा अल्पकालीन कार्यनीतिलाई नै मूल आधार बनाएको उनको भनाइ थियो।
दाहालले निर्वाचनमा सफलता हासिल गर्ने, सरकार गठन गर्ने, मन्त्री तथा प्रधानमन्त्री बन्ने लक्ष्यमै पार्टीको राजनीतिक अभ्यास सीमित हुँदै गएको स्वीकार गर्दै त्यसलाई नेतृत्वको कमजोरीका रूपमा चित्रण गरे। प्रधानमन्त्री बन्ने उद्देश्यले विभिन्न राजनीतिक शक्तिसँग सहकार्य गर्दै अघि बढ्ने प्रवृत्ति पनि त्रुटिपूर्ण भएको उनको आत्म समीक्षा थियो।
उनले संविधान जारी भएपछि पार्टी नेतृत्व दीर्घकालीन वैचारिक रूपान्तरणभन्दा तात्कालिक स्वार्थ र सत्ताको अभ्यासमा बढी केन्द्रित भएको बताए।
पार्टीभित्र समाजवादी मूल्य र मान्यताको प्रभाव क्रमशः कमजोर बन्दै गएको उल्लेख गर्दै उनले व्यक्तिवाद, अवसरवाद र स्वार्थमुखी प्रवृत्तिले संगठनात्मक संस्कृतिमा प्रभाव पारेको स्वीकार गरे। समाजवादको पक्षमा सार्वजनिक रूपमा प्रतिबद्धता व्यक्त गरिए पनि व्यवहारमा भने त्यसअनुरूपको अभ्यास हुन नसकेको उनको भनाइ थियो।






