काठमाडौँ । सरकारले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको निलम्बन वर्तमान सरकारको हस्तक्षेपका कारण मात्र भएको भन्ने निष्कर्ष सही नभएको जनाएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता तथा शिक्षा एवं खेलकुद मन्त्री सस्मित पोखरेलले एन्फाको वर्तमान अवस्था विगतका विभिन्न सरकारका पालामा भएका हस्तक्षेपको समग्र परिणाम भएको दाबी गरे।
उनले नेपाली फुटबलको अवस्था अब थप कमजोर हुने अवस्था नरहेको उल्लेख गर्दै वर्तमान सरकार खेलकुद क्षेत्रलाई सुधार र उकास्ने दिशामा केन्द्रित रहेको बताए।
प्रवक्ता पोखरेलका अनुसार एन्फासम्बन्धी विभिन्न भ्रष्टाचारका उजुरी परेपछि राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्षको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ। समितिले प्राप्त उजुरीका आधारमा आवश्यक अध्ययन र छानबिन अघि बढाउने उनले जानकारी दिए।
एन्फाका पदाधिकारीको विदेश भ्रमणसम्बन्धी विषयमा बोल्दै उनले नेपालले विश्वकप छनोटलगायत अन्तर्राष्ट्रिय प्रतियोगितामा उपलब्धिमूलक नतिजा हासिल गरेपछि मात्र पदाधिकारीहरूको सहभागितालाई प्राथमिकता दिइने धारणा व्यक्त गरे।
उनले फिफा र एसियाली फुटबल महासंघ (एएफसी) का पदाधिकारीलाई वार्ताका लागि नेपाल आउन निमन्त्रणा दिइसकिएको जानकारी दिँदै उनीहरू आएपछि एन्फासम्बन्धी विषयमा विस्तृत छलफल गरिने बताए।
सरकार नेपाली फुटबलको समग्र सुधारका पक्षमा रहेको उल्लेख गर्दै उनले आगामी नेतृत्व चयनमा राजनीतिक आधारभन्दा फुटबल क्षेत्रमा योगदान दिएका पूर्वखेलाडी, खेल प्रेमी तथा फुटबल प्रशासनको अनुभव भएका व्यक्तिलाई प्राथमिकता दिने सोच रहेको बताए।
फिफाबाट एन्फा निलम्बन भएको घटनाले सबैलाई दुःखित बनाएको उल्लेख गर्दै प्रवक्ता पोखरेलले समस्या समाधानका लागि सरकार आवश्यक पहलमा रहेको बताए।






