काठमाडौँ । नेपाल प्रहरीले महोत्तरीबाट ४८७.१०८ किलोग्राम प्रतिबन्धित लागूऔषध गाँजासहित एक ट्रक नियन्त्रणमा लिँदै दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार असार २० गते राति एकडारा गाउँपालिका-१ भटोलीयामा ना ३ ख ६५२१ नम्बरको ट्रक जाँचका क्रममा तीन वटा प्लास्टिकका पोकामा लुकाइराखिएको ४०.३६० किलोग्राम गाँजा बरामद गरिएको थियो। प्रारम्भिक अनुसन्धानबाट उक्त गाँजा धनकुटाबाट महोत्तरी ल्याइएको खुलेपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।
सोही अनुसन्धानका आधारमा महोत्तरी गाउँपालिका-४ रानी रतवाडास्थित एक घरमा खोजतलास गर्दा थप ३५ वटा प्लास्टिकका पोकामा प्याक गरिएको ४४६.७४८ किलोग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ। यससँगै बरामद गाँजाको कुल परिमाण ४८७.१०८ किलोग्राम पुगेको छ।
प्रहरीले मकवानपुरको कैलाश गाउँपालिका-६ का २१ वर्षीय ट्रक चालक विपस नेगी र एकडारा गाउँपालिका–१ का २४ वर्षीय साधुराम रिङ्ठालाई पक्राउ गरेको जनाएको छ। बरामद गाँजा, ट्रक तथा पक्राउ परेकामाथि लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।






