काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका-२६ बस्ने झापा घर भएका ४८ वर्षीय टिका कार्की, काठमाडौँ महानगरपालिका-१६ बस्ने सुनसरी घर भएकी ४६ वर्षीया सरिता बान्तवा राई, टोखा नगरपालिका-६ बस्ने नुवाकोट घर भएका २५ वर्षीय अग्रीम विक्रम तिमोथी, काठमाडौँ महानगरपालिका-१५ बस्ने धादिङ घर भएका ४९ वर्षीय दिपक चन्द्र गौतम, काठमाडौँ महानगरपालिका-२६ बस्ने मोरङ घर भएका ४४ वर्षीय धन प्रसाद काफ्ले, काठमाडौँ महानगरपालिका-११ बस्ने रूपन्देही घर भएकी ४० वर्षीया रूपा सुनार र भक्तपुर मध्यपुर थिमी नगरपालिका-४ बस्ने जुम्ला घर भएका २९ वर्षीय रमेश स्वाँर रहेका छन् ।
प्रहरीका अनुसार टिकाले साईप्रस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५० हजार रुपैयाँ, सरिताले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३० लाख रुपैयाँ, अग्रीम बिक्रमले दक्षिण अफ्रिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख ८५ हजार रुपैयाँ, दिपक चन्द्रले ग्रिस पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ७ लाख ९४ हजार रुपैयाँ, धन प्रसादले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८० हजार रुपैयाँ, रूपाले पोर्चुगल पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २१ लाख रुपैयाँ र रमेशले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको थियो ।
सम्पर्कविहीन भएपछि पीडितहरूले दिएको उजुरीको आधारमा उनीहरूलाई विभिन्न ठाउँबाट प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।







