काठमाडौँ । काठमाडौँ उपत्यकामा खानेपानी आपूर्ति व्यवस्थापन सहज बनाउन काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले वैकल्पिक जलस्रोत परिचालनको तयारी अघि बढाएको छ।
मेलम्ची खानेपानी आयोजनाबाट हुने आपूर्ति रोकिएको अवस्थामा शिवपुरी क्षेत्रको बागमती नदीबाट पानी ल्याउने योजनालाई प्राथमिकतामा राखिएको हो।
पूर्वाधार विकास समितिको बैठकमा केयुकेएलका कार्यकारी निर्देशक रामरतन साहले उपत्यकाको खानेपानी व्यवस्थापनका लागि शिवपुरीस्थित बागमती स्रोत उपयोग गर्ने योजनाबारे जानकारी दिएका छन्। उनले मेलम्चीको आपूर्ति बन्द भएपछि दीर्घकालदेखि छलफलमा रहेको वैकल्पिक योजना कार्यान्वयनतर्फ अघि बढाइएको बताए।
मेलम्ची आयोजनाबाट काठमाडौँ उपत्यकामा दैनिक करिब १८ देखि २० करोड लिटर पानी आपूर्ति हुँदै आएको थियो। उक्त आपूर्ति प्रभावित भएपछि उपभोक्तालाई नियमित सेवा उपलब्ध गराउन वैकल्पिक स्रोतको खोजी र व्यवस्थापनका उपायहरू अघि सारिएको केयुकेएलले जनाएको छ।
शिवपुरी क्षेत्रबाट पानी ल्याउने योजना यसअघि नै अध्ययनको चरणमा रहेको थियो। करिब पाँच-छ वर्षअघि अघि बढाइएको उक्त अवधारणालाई हालको आवश्यकता अनुसार तीव्र गतिमा कार्यान्वयन गर्ने तयारी गरिएको छ।
केयुकेएलले प्रस्तावित योजनाबाट उपत्यकाको खानेपानी आपूर्ति प्रणालीमा देखिएको दबाब कम गर्न सहयोग पुग्ने अपेक्षा गरेको छ।







