काठमाडौँ । सरकारले गोविन्द बहादुर कार्कीलाई नेपाल सरकारको मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको छ।
हालका मुख्यसचिव सुमनराज अर्याल शुक्रबारदेखि अनिवार्य अवकाशमा जाने भएपछि मन्त्रिपरिषद्को बैठकले सचिवहरूमध्येबाट कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो।
कार्की हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रालयमा सचिवका रूपमा कार्यरत छन्।
मुख्यसचिव नेपालको निजामती प्रशासनको सर्वोच्च पद हो। मुख्यसचिवले मन्त्रिपरिषद्का निर्णय कार्यान्वयनको समन्वय, संघीय निजामती प्रशासनको नेतृत्व तथा प्रशासनिक व्यवस्थापनको जिम्मेवारी निर्वाह गर्ने व्यवस्था छ।
निजामती वृत्तमा कामकाजी प्रशासकका रूपमा चिनिने उनी पछिल्लो समय प्रशासन सुधारसँग सम्बन्धित कार्यमा पनि सक्रिय रहँदै आएका छन्।
वरियतामा दर्जनौँ सचिवभन्दा पछाडि रहे पनि कार्यक्षमता, अनुभव र नेतृत्व क्षमताका आधारमा २०८१ भदौ २० गते सचिवमा बढुवा भएका कार्कीलाई मुख्यसचिवका लागि उपयुक्त ठानिएको स्रोतको भनाइ छ।
२०२७ पुस २५ गते कोशी प्रदेशको भोजपुरमा जन्मिएका कार्की २०५३ पुस ७ गते निजामती सेवामा प्रवेश गरेका हुन्। सचिव पदमै रहे उनी २०८५ पुस २५ गतेसम्म निजामती सेवामा रहने थिए।
कार्की पछिल्लो समय सरकारले अघि बढाएको प्रशासनिक पुनर्संरचना तथा सुधार अभियानसँग जोडिएका सचिवमध्येका एक हुन्।
सरकार गठनलगत्तै मन्त्रिपरिषद्ले स्वीकृत गरेको एक सय बुँदे कार्ययोजनाको ‘प्रशासनिक सुधार, पुनर्संरचना र मितव्ययिता’ अन्तर्गत मन्त्रालयको संख्या घटाएर १७ मा सीमित गर्ने लक्ष्य राखिएको थियो। त्यसैअनुसार चैत २२ गते बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल सरकारअन्तर्गतका सबै मन्त्रालय, सचिवालय, आयोग तथा मातहतका निकायको संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षण गर्न पूर्वस्वीकृति दिएको थियो।
सोही निर्णय कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तत्कालीन सचिव कार्कीको नेतृत्वमा छ सदस्यीय पुनर्संरचना व्यवस्थापन सचिवालय गठन गरिएको थियो।
कार्कीको पत्र तयार हुँदैछ ।







