काठमाडौँ । नेपाल प्रहरीले केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत केही वरिष्ठ प्रहरी अधिकृतहरूको काज तथा सरुवासम्बन्धी विषयलाई लिएर प्रकाशित तथा प्रसारित समाचार, टिप्पणी र विश्लेषणप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
नेपाल प्रहरी प्रधान कार्यालयले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा सम्बन्धित प्रहरी अधिकृतहरूको काज–सरुवा मानव स्रोत विकास विभाग अन्तर्गत कर्मचारी प्रशासन शाखाबाट प्रचलित कानुनी व्यवस्था, स्थापित प्रशासनिक प्रक्रिया तथा नियमित कर्मचारी व्यवस्थापन प्रणाली अनुसार गरिएको स्पष्ट पारिएको छ।
विज्ञप्तिअनुसार उक्त निर्णय कुनै विशेष घटना, अनुसन्धान, उजुरी वा अन्य कुनै विषयसँग सम्बन्धित नभई नियमित प्रशासनिक प्रक्रियाअन्तर्गत गरिएको काज–सरुवा हो।
नेपाल प्रहरीले तथ्य र आधिकारिक जानकारीबिना अनुमानका आधारमा समाचार तथा टिप्पणी प्रकाशन वा प्रसारण गर्दा आम नागरिकमा भ्रम सिर्जना हुने, सार्वजनिक संस्थाप्रतिको विश्वासमा नकारात्मक असर पर्ने तथा प्रशासनिक प्रक्रियालाई अनावश्यक रूपमा विवादित बनाउने अवस्था आउन सक्ने जनाएको छ।
यसै सन्दर्भमा प्रहरी प्रधान कार्यालयले सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सरोकारवालालाई अपुष्ट, भ्रामक र तथ्यहीन सूचनाको पछि नलाग्न आग्रह गरेको छ।
नेपाल प्रहरीले कानुनी व्यवस्था, पारदर्शिता, निष्पक्षता र स्थापित प्रशासनिक प्रणालीको पालना गर्दै आफ्नो जिम्मेवारी निर्वाह गर्न प्रतिबद्ध रहेको पनि विज्ञप्तिमार्फत जनाएको छ।








