काठमाडौँ । राष्ट्रिय सेवा दलसम्बन्धी विधेयक २०८३ प्रतिनिधि सभामा प्रस्तुत भएको छ। प्रस्तावित विधेयकले युवा तथा विद्यार्थीलाई तालिम प्रदान गर्ने र तालिम प्राप्त जनशक्तिलाई राष्ट्र सेवामा परिचालन गर्न सकिने कानुनी आधार निर्माण गर्ने व्यवस्था अघि सारेको छ।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले उक्त विधेयक सदनमा पेश गरेकी हुन्।
विधेयक प्रस्तुत गर्दै मन्त्री गौतमले नेपालको संविधानले राष्ट्रिय एकता र सुरक्षासम्बन्धी नीतिअन्तर्गत नागरिकलाई राष्ट्र सेवाका लागि तयार र सक्षम बनाउने राज्यको दायित्व उल्लेख गरेको बताइन्।
उनका अनुसार हाल प्रचलित राष्ट्रिय सेवा दल ऐन २०२७ लाई संशोधन मात्र गरेर समयानुकूल बनाउन कठिन हुने भएकाले त्यसलाई प्रतिस्थापन गर्दै नयाँ कानुनी व्यवस्था आवश्यक भएको हो।
मन्त्री गौतमले विद्यालय तहमा अध्ययनरत विद्यार्थीमा देशप्रेम, सामाजिक सेवा भावना, राष्ट्रिय एकता र अनुशासन विकास गर्ने उद्देश्यले विधेयक ल्याइएको जानकारी दिइन्।
उनले राष्ट्रिय आवश्यकता अनुसार नेपाली नागरिकलाई तालिम दिन सक्ने तथा तालिम प्राप्त व्यक्तिलाई स्वयंसेवकका रूपमा राष्ट्र सेवामा परिचालन गर्न मिल्ने गरी कानुनी व्यवस्था गर्न विधेयक आवश्यक परेको बताइन्।







