काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद सागर ढकालले मुलुकको आर्थिक गतिविधिलाई गतिशील बनाउन औद्योगिक क्षेत्रको भूमिका निर्णायक हुने भन्दै उद्योगको उत्पादन वृद्धि सरकारको प्रमुख प्राथमिकतामा पर्नुपर्ने बताएका छन्।
बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा उनले उद्योगीले उत्पादन बढाउन सक्ने वातावरण निर्माण गर्नु सरकार र नीति निर्माताको जिम्मेवारी भएको धारणा राखे।
सांसद ढकालले औद्योगिक उत्पादन विस्तारबिना अर्थतन्त्रमा अपेक्षित गति आउन नसक्ने उल्लेख गर्दै सरकारले उद्योगमैत्री नीति तथा सहजीकरणको माध्यमबाट उत्पादन अभिवृद्धिमा सहयोग गर्नुपर्ने बताए।
उद्योग क्षेत्रको विस्तारसँगै राज्यको राजस्व संकलनमा समेत उल्लेखनीय वृद्धि हुने उनको भनाइ थियो। उनले उत्पादन र आम्दानी बढाउन सफल उद्योगहरूको उदाहरण प्रस्तुत गर्दै औद्योगिक विकासले सरकारको राजस्व आधार विस्तार गर्ने र सार्वजनिक सेवा तथा विकास कार्यक्रम सञ्चालनका लागि आवश्यक स्रोत जुटाउन सहयोग पुग्ने तर्क गरे।
ढकालले उद्योग सञ्चालन र विस्तारमा देखिएका नीतिगत तथा प्रशासनिक अवरोध हटाउन सरकार गम्भीर हुनुपर्नेमा जोड दिए। उनका अनुसार उत्पादन क्षमता र औद्योगिक आम्दानी बढ्दै गए त्यसबाट प्राप्त हुने राजस्वले मुलुकले सामना गरिरहेका धेरै आर्थिक तथा विकाससम्बन्धी चुनौती समाधान गर्न योगदान पुर्याउन सक्छ।







