काठमाडौँ । काठमाडौँको राहदानी विभाग अगाडि पार्किङ जरिवानाको विषयलाई लिएर एक युवकले आत्मदाहको प्रयास गरेको घटनाप्रति प्रतिनिधि सभामा सरकारको ध्यानाकर्षण गराइएको छ ।
नेपाली काँग्रेसका सांसद खड्गबहादुर शाहीले बिहीबारको बैठकमा मुगुका २२ वर्षीय गणेश नेपालीको आत्मदाह प्रयासको विषय उठाउँदै दोषीमाथि कारबाहीको माग गरेका हुन्। सांसद शाहीका अनुसार, मुगु जिल्ला सोरु गाउँपालिका वडा नम्बर ११ का नेपाली राहदानी बनाउन बिहान ११ बजे विभाग पुगेका थिए । सो क्रममा उनले पार्किङ गरेको मोटरसाइकलमा नगर प्रहरीले ताला लगाइ १० हजार रुपैयाँ जरिवाना तिराएपछि उत्पन्न मानसिक तनावका कारण उनले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए । घटनामा नेपालीको शरीर करिव ९० प्रतिशत जलेको र हाल उनको वीर अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा अचेत अवस्थामा उपचार भइरहेको जानकारी गराइएको छ ।
सदनमा बोल्दै सांसद शाहीले भने, ‘कुनै पनि जरिवाना वा प्रशासकीय कारबाही नागरिकको जीवनभन्दा ठूलो हुन सक्दैन । कानुनको कार्यान्वयन आवश्यक छ, तर मानवीय संवेदनशीलतालाई मध्यनजर गरिनुपर्छ। निजलाई आत्मदाहको अवस्थासम्म पु¥याउने दोषीमाथि कारबाही गरियोस् र यस्ता हृदयविदारक घटना दोहोरिन नदिन प्रभावकारी कदम चालियोस् ।’
सांसद शाहीले हाल सरकारले जरिवानाका नाममा जथाभाबी रकम असुल गरिरहेको आरोप लगाउँदै यसले नागरिकमा चरम निराशा पैदा गरेको बताए । उनले यस्ता प्रतिनिधि घटनाहरूले भोलि अझ भयावह रूप लिन सक्ने भन्दै अविलम्ब जरिवानाको दर घटाउन र सर्वसाधारणलाई शिरोधार्य गरेर न्यायपूर्ण व्यवस्था लागू गर्न नेपाल सरकारको ध्यानाकर्षण गराए ।







