काठमाडौँ । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको घटनामा गम्भीर रूपमा जलन भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च नेपाल सरकारले व्यहोर्ने भएको छ। उनको थप तथा विशिष्टीकृत उपचारका लागि भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) लैजाने तयारीसमेत गरिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार हाल वीर अस्पतालमा उपचाररत नेपालीलाई भारत पठाउन आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी अघि बढाइएको छ।
घाइतेको स्वास्थ्य अवस्था बुझ्न तथा उपचार प्रक्रियालाई तीव्र बनाउन गृहमन्त्री सुदन गुरुङ र प्रधानमन्त्रीको सचिवालयका सदस्यहरू बिहीबार वीर अस्पताल पुगेका थिए। उनीहरूले उपचारमा संलग्न चिकित्सक टोलीसँग घाइतेको पछिल्लो स्वास्थ्य अवस्था र उपचारको प्रगतिबारे जानकारी लिएका थिए।
चिकित्सकहरूसँगको परामर्शपछि बिरामीको अवस्था गम्भीर रहेकाले तत्काल भारत लैजान आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी चुस्त बनाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहको विशेष पहलमा गणेश नेपालीलाई थप उपचारका लागि भारत पठाउने सम्पूर्ण प्रक्रिया अघि बढाइएको पनि प्रधानमन्त्री कार्यालयले जनाएको छ।







