काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) का कलेजमा अध्ययनका लागि पठाइदिने तथा त्यहाँबाट फ्रान्स र अस्ट्रेलियासमेत लैजाने प्रलोभन देखाएर ठगी गरेको आरोपमा नौ जना शैक्षिक परामर्श संस्थाका सञ्चालक पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शुक्रबार चार वटा कन्सल्टेन्सीसँग आबद्ध नौ जनालाई पक्राउ गरेको जनाएको छ।
सीआईबीका अनुसार पक्राउ पर्नेमा काठमाडौँको डिल्लीबजारस्थित एडुपोर्ट प्रालिका सञ्चालक रूपक कोइराला, राजेश भण्डारी र सन्तोष खतिवडा रहेका छन्।
त्यसैगरी, पुतलीसडकस्थित वेस्टफोर्ड एजुकेसन प्रालिका सञ्चालक चिन्टु श्रेष्ठ, बानेश्वरस्थित प्रोप एभिएसन प्रालिका सञ्चालक सुरेन्द्र महर्जन, दिवस पोखरेल, मनित आचार्य र शेखर पाण्डे पनि पक्राउ परेका छन्।
यसैगरी, कालिमाटीस्थित एस्पायर ग्लोबल प्रालिका सञ्चालक विशाल चापागाइँलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनीहरूले यूएईमा विद्यार्थी पठाउन शिक्षा मन्त्रालयअन्तर्गतको सम्बन्धित निकायबाट आवश्यक स्वीकृति नलिई परामर्श सेवा सञ्चालन गर्दै आएका थिए। सोही क्रममा यूएईमा अध्ययनका लागि पठाइदिने र त्यहाँबाट अन्य मुलुकमा समेत लैजाने आश्वासन दिएर ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ।
घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







