काठमाडौँ । पोखरा महानगरपालिका-सेदी क्षेत्रमा बसेर अवैध अनलाइन सट्टेबाजी सञ्चालन गर्दै आएको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा परिचालित संयुक्त प्रहरी टोलीले सट्टेबाजी भइरहेको स्थानमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूले स्थानीय जीवन श्रेष्ठको घरका सातवटा कोठा भाडामा लिएर सफ्टवेयरसम्बन्धी काम गर्ने आवरणमा अनलाइन बेटिङको गतिविधि सञ्चालन गर्दै आएका थिए । गण्डकी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
घटनास्थलबाट बरामद गरिएका तीन वटा कम्प्युटरको प्रारम्भिक परीक्षणका क्रममा करिब २० करोड ६९ लाख ८९ हजार ८३४ रुपैयाँ बराबरको डिजिटल कारोबार विवरण फेला परेको प्रहरीले जनाएको छ । बरामद डिजिटल सिटहरूमा क्रमशः १ करोड ११ लाख ९९ हजार, ९ करोड २ लाख २२ हजार र १० करोड ५५ लाख ६८ हजार रुपैयाँ बराबरको क्रेडिट देखिएको थियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी वीरेन्द्रकुमार पासवानका अनुसार गिरोहले आर्थिक कारोबारका लागि भारतीय बैंक तथा विभिन्न डिजिटल भुक्तानी प्रणाली प्रयोग गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । एक्सिस बैंक, आईडीएफसी बैंक, क्यानरा बैंकलगायतका खातासँगै २४ पे, पे बजार, गुगल पे र नोक्सोन पे जस्ता वालेट प्रयोग गरिएको पाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले उक्त गतिविधिको मुख्य योजनाकारका रूपमा भारत भुपा मानपुरका ३४ वर्षीय सत्यम सिंहलाई पहिचान गरेको छ । उनीसँगै भारतका हर्ष उसरेटे, विशाल चाउ, जमान सिंह तमार, विक्रान सिंह, अजितेशकुमार मिश्र र सत्यम राजपूत तथा नेपालका दार्चुला निवासी ३१ वर्षीय दिनेश सिंह बोहरालाई पक्राउ गरिएको छ ।
अनुसन्धानका क्रममा गिरोहले टेलिग्राम र ह्वाट्सएपमार्फत ‘गुरु भाइ २४७ डट प्रो’ नामक अनलाइन लिंक प्रयोग गरी प्रयोगकर्ता जोड्ने गरेको खुलेको छ । उक्त माध्यमबाट रकम जम्मा गराई क्रिकेट, फुटबल र क्यासिनोलगायतका खेलमा सट्टा लगाउने व्यवस्था मिलाइएको र जित्ने व्यक्तिलाई अनलाइन माध्यमबाट रकम भुक्तानी गर्ने गरिएको प्रहरीको भनाइ छ ।
प्रहरीले घटनास्थलबाट सात थान ल्यापटप, छ थान मनिटर, ३१ थान मोबाइल फोन, ३४ थान भारतीय सिमकार्ड, नौ थान किबोर्ड, दुई थान राउटरसहित अन्य विद्युतीय सामग्री बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नवीन कार्कीले प्रारम्भिक अनुसन्धानबाट घटनामा अन्तरदेशीय गिरोहको संलग्नता देखिएको बताएका छन् । उनका अनुसार गिरोहले भारतीय नागरिकका बैंक खाता प्रयोग गरी कारोबार गर्ने गरेको समेत खुलेको छ ।
प्रहरीका अनुसार उक्त सञ्जालको मुख्य सञ्चालन केन्द्र भारतमा रहेको र पोखरामा रहेको इकाइ त्यसको २७औँ शाखाका रूपमा सञ्चालन भएको देखिएको छ । अनुसन्धानबाट गिरोहले दैनिक ३ देखि ४ लाख भारतीय रुपैयाँसम्म आम्दानी गर्ने गरेको तथा त्यहाँ कार्यरत व्यक्तिलाई मासिक करिब २५ हजार भारतीय रुपैयाँ पारिश्रमिक दिने गरेको विवरणसमेत प्राप्त भएको प्रहरीले जनाएको छ ।
प्रहरीले पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान जारी रहेको जनाएको छ ।







