काठमाडौँ । सिरहामा पानी जमेको खाल्डोमा डुबेर एकै परिवारका तीन जना बालबालिकाको मृत्यु भएको छ।
प्रहरीका अनुसार घटना गोलबजार नगरपालिका-७ स्थित पुरानो चौक चोहर्वा क्षेत्रमा रहेको पशु हाटबजार परिसरमा भएको हो। प्रहरी प्रवक्ता रमेशबहादुर पालले अवास शेखका तीन सन्तानको डुबेर मृत्यु भएको जानकारी दिए।
मृत्यु हुनेमा १२ वर्षीया सबनम खातुन, १० वर्षीया रुबिना खातुन र ७ वर्षीय साइफुल शेख रहेका छन्।
प्रारम्भिक अनुसन्धानअनुसार खेल्ने क्रममा उनीहरू पशु हाटबजार परिसरमा रहेको खाल्डोमा जमेको पानीमा नुहाउन गएका बेला डुबेका थिए।
घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीले उनीहरूलाई उद्धार गरी उपचारका लागि अस्पताल पुर्याएका थिए। अस्पतालमा चिकित्सकले तीनै जनालाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
घटनाको कारण र अन्य पक्षबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







