काठमाडौँ । राजधानीका केही सञ्चार संस्थाका कार्यालय प्रवेशद्वारमा अवरोध हुने गरी राखिएका शंकास्पद सवारी साधन प्रहरीले क्रेनको सहायताले हटाएको छ ।
सोमबार बिहान सञ्चारगृहका गेटमा अस्वाभाविक रूपमा सवारी साधन पार्किङ गरिएको पाइएपछि सम्बन्धित कार्यालयहरूले प्रहरीलाई जानकारी गराएका थिए । त्यसपछि प्रहरीले घटनास्थलमा पुगेर आवश्यक प्रक्रिया पूरा गर्दै सवारी साधन हटाएको हो ।
प्रहरीका अनुसार नयाँ बानेश्वरस्थित अनलाइनखबर, तीनकुनेस्थित कान्तिपुर पब्लिकेसन्स र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनका कार्यालय प्रवेश क्षेत्रमा शंकास्पद अवस्थामा सवारी साधन राखिएका थिए ।
घटनाबारे जानकारी पाएपछि प्रहरीले तीनवटै स्थानमा पुगेर सवारी धनीको पहिचान तथा अवस्थाबारे बुझ्ने प्रयास गरेको जनाएको छ । यद्यपि, समाचार तयार पार्दासम्म ती सवारी साधन कसले र किन राखेको भन्ने विषयमा स्पष्ट जानकारी प्राप्त हुन सकेको छैन ।
यस विषयमा नेपाल पत्रकार महासंघले विज्ञप्ति जारी गर्दै सञ्चार संस्थाका कार्यालय अगाडि शंकास्पद रूपमा सवारी साधन राखिनु पत्रकारहरूको नियमित काममा अवरोध सिर्जना गर्ने तथा असुरक्षाको वातावरण बनाउने गतिविधि भएको जनाएको छ ।
महासंघले सञ्चारकर्मीको सुरक्षा र निर्बाध रूपमा सूचना सम्प्रेषण गर्ने वातावरण सुनिश्चित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।







