काठमाडौँ । राजधानीका विभिन्न सञ्चारगृहको प्रवेशद्वार अवरुद्ध हुने गरी शंकास्पद रूपमा पार्किङ गरिएका सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।
सोमबार बिहान कान्तिपुर पब्लिकेशनको तीनकुनेस्थित कार्यालय, अनलाइनखबरको नयाँबानेश्वरस्थित कार्यालय तथा हिमालय टेलिभिजनको कार्यालयको गेटअगाडि निजी नम्बर प्लेटका गाडी तेर्स्याएर राखिएको अवस्थामा फेला परेका थिए। ती सवारीसाधनका कारण सञ्चारकर्मीको आवतजावत तथा कार्यालयका सवारी सञ्चालनमा अवरोध पुगेको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले प्रशासनसँग कुरा गर्दै कान्तिपुर, अनलाइनखबर, हिमालयन टेलिभिजनलगायत केही सञ्चारगृहको गेटअगाडि गाडी रोकिएको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पठाइएको बताए। उनका अनुसार गाडी हटाउने प्रक्रिया अघि बढाइसकिएको छ।
एसपी भट्टराईका अनुसार ट्राफिक प्रहरीसँगको समन्वयमा ती सवारीसाधन नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया तथा अनुसन्धान अघि बढाइएको छ। गाडी कसले, किन र कुन उद्देश्यले त्यहाँ पार्किङ गरेर छाडेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रारम्भिक जानकारीअनुसार तीनवटै गाडी निजी नम्बर प्लेटका हुन्। घटनास्थलबाट सवारीसाधन हटाइएपछि तिनको प्राविधिक परीक्षण, सीसीटीभी फुटेज तथा अन्य प्रमाणका आधारमा सम्बन्धित व्यक्तिको खोजी भइरहेको प्रहरी स्रोतले जनाएको छ।
यस घटनाप्रति नेपाल पत्रकार महासंघले पनि ध्यानाकर्षण भएको जनाएको छ। महासंघले जारी गरेको विज्ञप्तिमा सञ्चारमाध्यमका कार्यालयको गेटमै सवारीसाधन पार्किङ गरेर पत्रकारको आवतजावतमा अवरोध सिर्जना गरिएको भन्दै तत्काल अवरोध हटाउन, घटनाको निष्पक्ष छानबिन गर्न र दोषीमाथि कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ। साथै सञ्चारकर्मी र सञ्चारगृहको सुरक्षाको प्रत्याभूति गर्न पनि महासंघले आग्रह गरेको छ।
यसअघि पनि थापाथलीस्थित बाह्रखरी मिडियाको कार्यालयको पार्किङ प्रवेशद्वारअगाडि यस्तै शैलीमा सवारीसाधन पार्किङ गरिएको घटना सार्वजनिक भएको थियो। त्यसबेला ट्राफिक प्रहरीले गाडी हटाएको थियो।
प्रहरीले हालको घटनालाई पनि गम्भीर रूपमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ। अनुसन्धान नसकिएकाले घटनाको उद्देश्य वा संलग्न व्यक्तिबारे कुनै निष्कर्षमा पुग्न बाँकी रहेको प्रहरीको भनाइ छ।







