काठमाडौँ । राहदानी विभाग अगाडि आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुका गणेश नेपालीको शव सोमबार अन्त्येष्टिका लागि पशुपति आर्यघाट लगिएको छ।
नेपालीले गत बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसरबाहिर आत्मदाहको प्रयास गरेका थिए। गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको थियो।
शव व्यवस्थापनका विषयमा आइतबार सरकार र मृतकका परिवारबीच नौ बुँदे सहमति भएपछि अन्त्येष्टिको प्रक्रिया अघि बढाइएको हो।
सहमतिअनुसार सरकारले मृतकका परिवारलाई राहत, रोजगारीसहित विभिन्न प्रकारका सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। त्यसपछि परिवारले शव अन्त्येष्टिका लागि बुझेर पशुपति आर्यघाट लगेको हो।







