काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले लोकतान्त्रिक समाजमा नागरिकको प्रश्न गर्ने अधिकार र त्यसका लागि आवश्यक साहस कुनै पनि परिस्थितिमा खोस्न नसकिने बताएका छन्।
सोमबार आयोजित पार्टीको एक कार्यक्रममा सम्बोधन गर्दै थापाले आफ्नो पुरानो बसोबास रहेको रातो पुल क्षेत्रमा समेत शंकास्पद रूपमा सवारी साधन राखिएको जानकारी आएको उल्लेख गरे। उनले पछिल्ला घटनाप्रति चिन्ता व्यक्त गर्दै यस्ता गतिविधिले लोकतान्त्रिक अभ्यासमाथि प्रश्न उठाएको बताए।
थापाले सरकार नै प्रश्न उठाउने आवाजलाई नियन्त्रण गर्ने दिशामा अग्रसर देखिनु गम्भीर विषय भएको टिप्पणी गरे। यस्ता गतिविधिप्रति पार्टीको तर्फबाट खेद व्यक्त गर्दै नागरिकको अभिव्यक्ति र प्रश्न गर्ने अधिकार कुनै पनि माध्यमबाट सीमित गर्न नसकिने उनको भनाइ थियो।
उनले समाज, राजनीतिक दल वा नागरिकको प्रश्न गर्ने अधिकार र मनोबल यस्ता घटनाले कमजोर नपार्ने उल्लेख गर्दै लोकतान्त्रिक अधिकारको संरक्षण आवश्यक रहेको बताए।
महामन्त्री थापाले विगतमा यस्तै प्रवृत्तिका कारण राजनीतिक दलहरूले जनविश्वास गुमाएको स्मरण गराउँदै अहिले पनि त्यही प्रकारका अभ्यास दोहोरिनु चिन्ताको विषय भएको बताए। उनले यस्ता घटनाबाट पाठ सिक्दै भविष्यमा थप नदोहोरिने वातावरण निर्माण गर्न सबै पक्षले गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याए।







