काठमाडौँ । वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि युवा, श्रम तथा रोजगार मन्त्रालयले खुला प्रतिस्पर्धामार्फत आवेदन आह्वान गरेको छ।
करिब दुई महिनादेखि रिक्त रहेको उक्त पदमा नियुक्ति प्रक्रिया अघि बढाउँदै मन्त्रालयले योग्य उम्मेदवारबाट दरखास्त माग गरेको हो।
सरकारले गत वैशाखमा अध्यादेशमार्फत राजनीतिक नियुक्तिबाट पदमा रहेका पदाधिकारीलाई पदमुक्त गर्ने निर्णय गरेपछि वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पद पनि रिक्त भएको थियो। सोही निर्णयअनुसार तत्कालीन कार्यकारी निर्देशक डा। द्वारिका उप्रेती पदमुक्त भएका थिए।
पद रिक्त रहेपछि बोर्डको नेतृत्वविहीन अवस्था करिब दुई महिनासम्म कायम रहेको थियो। अब मन्त्रालयले खुला प्रतिस्पर्धात्मक प्रक्रियाबाट नयाँ कार्यकारी निर्देशक छनोट गर्ने तयारी स्वरूप आवेदन आह्वान गरेको जनाएको छ।
कार्यकारी निर्देशक नियुक्तिको प्रक्रिया सुरु भएसँगै वैदेशिक रोजगार बोर्डको नेतृत्व पुनः पूर्णता दिने प्रशासनिक प्रक्रिया अघि बढेको छ।








