काठमाडौं । सर्लाही प्रहरीले मलंगवा नगरपालिका-८ स्थित एक सैलुनबाट कटुवा पेस्तोल र दुई राउन्ड गोली बरामद गरेको छ। घटनामा संलग्न रहेको आरोपमा भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमका अनुसार विशेष सूचनाका आधारमा असार २८ गते दिउँसो करिब २:४० बजे मलंगवा नगरपालिका-८ स्थित प्रादेशिक अस्पताल रोडमा सञ्चालन हुँदै आएको एक सैलुनमा प्रहरीले खानतलासी गरेको थियो।
प्रहरीका अनुसार भारतको बिहार राज्य, सितामढी जिल्ला, बाजपट्टी-१२ स्थायी घर भएका ३८ वर्षीय राजेश कुमारले सञ्चालन गर्दै आएको उक्त सैलुनमा रहेको कुर्सीमाथिको कालो प्लास्टिकको झोलाभित्र लुकाइराखिएको अवस्थामा एक थान कटुवा पेस्तोल र दुई राउन्ड गोली बरामद गरिएको हो।
यस घटनामा संलग्न रहेको आरोपमा असार २९ गते ब्रह्मपुरी गाउँपालिका-४ बाट भारतको बिहार राज्य, सितामढी जिल्ला, सोनवर्षा–१४ स्थायी घर भएका २३ वर्षीय डब्लु कुमारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट उनैले उक्त हतियार सैलुनभित्रको कुर्सीमा राखेको देखिएको छ।
घटनामा सहयोग गरेको आरोपमा लालबन्दी नगरपालिका-१ निवासी ३६ वर्षीय महमद अबुलैसलाई पनि पक्राउ गरिएको डीएसपी गौतमले जानकारी दिए।
प्रहरीका अनुसार पक्राउ परेका दुवै जनाविरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।
डीएसपी गौतमका अनुसार बरामद हतियारको स्रोत, यसको प्रयोगको उद्देश्य तथा यससँग जोडिएको सम्भावित अन्तरदेशीय आपराधिक सञ्जालबारे समेत विस्तृत अनुसन्धान अघि बढाइएको छ।







