सरकारले उद्योग, महिला, विज्ञान तथा राष्ट्रिय सतर्कता केन्द्रसहित विभिन्न मन्त्रालय र निकायका आधा दर्जन सचिवको सरुवा गर्दै प्रशासनिक नेतृत्वको जिम्मेवारी पुनः व्यवस्थापन गरेको छ।
काठमाडौँ । सरकारले विभिन्न मन्त्रालय तथा निकायका आधा दर्जन सचिवको सरुवा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अख्तियार, उद्योग, महिला, विज्ञान तथा राष्ट्रिय सतर्कता केन्द्रसहितका निकायमा सचिवहरूको जिम्मेवारी हेरफेर गरेको हो।
प्रशासन सिंहदरबार विशेष ब्युरो स्रोतका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ। उक्त मन्त्रालयकी सचिव राधिका अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (अतिरिक्त) मा सरुवा गरिएको स्रोतले जनाएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव नारायणप्रसाद शर्मा दुवाडीलाई ल्याइएको छ। त्यस्तै, सचिव डिल्लीराम शर्मा (यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा) लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको बताइएको छ।
यसैगरी, राष्ट्रिय सतर्कता केन्द्रका सचिव दीनानाथ मिश्रलाई नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ। राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा भने पूर्वाधार विकास मन्त्रालय (यसअघि खानेपानी मन्त्रालय) का सचिव विश्वबाबु पुडासैनीलाई सरुवा गरिएको स्रोतले जनाएको छ।
सरुवाको पत्र प्राप्त गरिसकेका कतिपय सचिवहरू आजै बिदाइ तथा पद बहाली गर्ने तयारीमा छन् भने पत्र प्राप्त नभइसकेका सचिवहरूको हकमा अझै अन्योल कायमै रहेको बताइएको छ। स्रोतका अनुसार अन्तिम सूचीमा केही फेरबदल हुन सक्ने सम्भावना पनि रहेको छ।
कर्मचारीप्रति निकै आक्रामक देखिएको सरकारले पछिल्लो समय कर्मचारी सरुवामा पनि कठोर शैली अपनाएको देखिन्छ। सहायक स्तरदेखि विशिष्ट श्रेणीसम्मका सरुवामा समेत अनुमानभन्दा फरक ढङ्गले फेरबदल भइरहेको छ।
मुख्यसचिव नियुक्तिमा समेत धेरैले अनुमान नगरेको निर्णय गर्दै सरकारले प्रशासनिक नेतृत्व चयनमा नयाँ अभ्यासको संकेत गरेको छ। तर, सरकार गठन भएको तीन महिनाभन्दा बढी बितिसक्दासमेत स्वयं कर्मचारीहरूले सरकारको कार्यशैली कुन दिशामा अघि बढ्छ भन्ने स्पष्ट आकलन गर्न सकिरहेका छैनन्। यसले स्थायी सरकारका रूपमा चिनिने कर्मचारीतन्त्रमा अझै अन्योल कायम रहेको देखिन्छ।







