काठमाडौँ । नेकपा (एमाले) ले प्रधानमन्त्रीले सीमा विवादका सम्बन्धमा दिएको विवादास्पद अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उक्त भनाइ सच्याउनुपर्ने आफ्नो माग यथावत् रहेको स्पष्ट पारेको छ ।
बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद गंगादेवी श्रेष्ठले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती र आपत्तिजनक रहेको भन्दै सरकारको आलोचना गरेकी हुन् ।
सांसद श्रेष्ठले प्रधानमन्त्रीले ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भन्ने आशयको अभिव्यक्ति दिनुभएको दाबी गर्दै यसले देशको सार्वभौमिकतामाथि आँच पुर्याएको बताइन ।
सांसद श्रेष्ठले सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको सुरक्षाप्रति सरकार गैर जिम्मेवार बनेको आरोप लगाइन् ।
सीमाका जंगे पिल्लरहरू सारिँदा त्यहाँका जनताले असुरक्षित महशुस गरिरहेको उल्लेख गर्दै उनले सुस्ता लगायतका क्षेत्रमा नेपाली नागरिकले भारतीय पक्षसँग एक्लै लड्नुपर्ने अवस्था सिर्जना हुनु दु:खद् भएको बताइन् ।
सांसद श्रेष्ठले मुलुकको सुशासन र समसामयिक राजनीतिक विषयमा पनि सरकारलाई प्रश्न गरिन्। सरकारले भ्रष्टाचार नियन्त्रण र कारबाहीको नाममा ‘नाटक’ गरिरहेको टिप्पणी गर्दै उनले गरिब र सुकुम्वासीका बस्तीमा डोजर चलाएर जनतालाई उठिबास लगाएकोमा आक्रोश व्यक्त गरिन्।
उनले पछिल्लो समय सडकमा देखिएका आन्दोलन र प्रदर्शनहरूमाथि पनि संशय व्यक्त गरिन् ।
‘जेन जेड’ को नाममा स्कुले बालबालिकालाई सडकमा उतार्ने र योजनाबद्ध रूपमा हिंसा भड्काउन खोज्ने तत्वहरूबारे छानबिन हुनुपर्ने उनको माग छ । संसदमै रहेका कतिपय सदस्यहरू समेत यस्ता गतिविधिमा संलग्न रहेको दाबी गर्दै उनले इतिहासले कसैलाई माफी नदिने बताइन्। उनले मुलुकको भूमि बचाउन सबै पक्ष मिल्नुपर्नेमा जोड दिइन् ।







