काठमाडौँ । शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालनसम्बन्धी नयाँ नियमावलीका केही व्यवस्थाप्रति असहमति जनाउँदै शैक्षिक परामर्श व्यवसायीहरूले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।
व्यवसायीसम्बद्ध विभिन्न संघसंस्थाहरूले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सरकारले वार्ता र माग सम्बोधनका लागि पहल नगरे जिल्ला प्रशासन कार्यालयमा संस्थाका चाबी बुझाएर अनिश्चित कालीन आन्दोलनमा जाने चेतावनी दिएका हुन्।
घोषित कार्यक्रमअनुसार व्यवसायीहरूले बिहीबार कार्यालयमा कालो पट्टी बाँधेर नियमित सेवा सञ्चालन गर्ने र साउन १ गते बिहान ११ बजेदेखि ११:३० बजेसम्म काठमाडौँका विभिन्न स्थानमा प्लेकार्डसहित शान्तिपूर्ण प्रदर्शन गर्ने जनाएका छन्।
संयुक्त संघर्ष समितिका संयोजक गुरुङले निजी क्षेत्रलाई नियन्त्रण गर्नेभन्दा सहजीकरण गर्ने नीति आवश्यक रहेको भन्दै नियमावलीमा रहेका अव्यवहारिक प्रावधान संशोधन वा हटाउन माग गरेका छन्।
व्यवसायीहरूले हाल कायम रहेको एक वर्षे अनुमति अवधि र नवीकरण प्रक्रियालाई परिवर्तन गरी पाँच वर्ष कायम गर्नुपर्ने लगायतका माग अघि सारेका छन्।











