काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कैलालीको गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति र रजिष्ट्रारलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।
मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री पोखरेलले नवनियुक्त उपकुलपति प्रा. डा. सुनिलकुमार जोशी र रजिष्ट्रार डा. भीमबहादुर चन्दलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । शिक्षा मन्त्रालयमा आज भएको विश्वविद्यालय सभाको बैठकले योग्यताक्रममा पहिलो नम्बरमा रहेका प्रा. डा. जोशीलाई उपकुलपतिमा तथा डा चन्दलाई रजिष्ट्रारमा नियुक्त गरेको थियो ।
सिफारिस समितिका संयोजक प्रा. डा. जयराज अवस्थीले सहकुलपति तथा सभाध्यक्ष एवं शिक्षा तथा खेलकुद मन्त्री पोखरेलमार्फत सिलबन्दीमा रहेको योग्यताक्रमसहितको प्रतिवेदन सभामा पेश गरेका थिए । त्यसपछि मन्त्री पोखरेलले सिफारिस भएका नाम सार्वजनिक गर्दै नियुक्तिको जानकारी दिए ।
मन्त्री पोखरेलले स्वास्थ्य क्षेत्रका १० विज्ञको सिफारिस प्रक्रिया १० स्वास्थ्य क्षेत्रकै विज्ञबाट गरिएको मूल्यांनका आधारमा स्वच्छ, निष्पक्ष र पारदर्शी ढंगले सम्पन्न भएको बताए । उनले उक्त मूल्यांकनका आधारमा सिफारिस समितिले योग्यताक्रम निर्धारण गरी नाम सिफारिस गरेको उल्लेख गर्दै नवनियुक्त पदाधिकारीको नेतृत्वमा विश्वविद्यालयमा यही वर्षदेखि पठनपाठनसहितका शैक्षिक तथा प्रशासनिक कार्य प्रारम्भ हुने विश्वास व्यक्त गरे ।
सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐनको दफा २५ अनुसार सिफारिस समितिले योग्यता क्रमसहित तीन जनाको नाम सिफारिस गर्ने र तीमध्ये योग्यताक्रममा पहिलो स्थानमा रहेका उम्मेदवारलाई नियुक्त गर्ने कानुनी व्यवस्था रहेको छ । बैठकमा सहकुलपतिद्वय शिक्षामन्त्री पोखरेल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता उपस्थिति थिए ।







