जलेश्वर । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले लाखौँ मूल्य बराबरको अवैध सामान बरामद गरेको छ।
विशेष सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरी बल, नेपाल नं. ९ गण हे.क्वा. महोत्तरी र नेपाल प्रहरीको संयुक्त टोलीले बुधवार जलेश्वर नगरपालिका–४, सुँगास्थित एक घरमा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा भन्सार छली लुकाई छिपाई राखिएको विभिन्न ब्रान्डका मोबाइलका पार्ट्सहरू (पुर्जाहरू) र विभिन्न प्रकारका लत्ताकपडाहरू बरामद गरिएको जनाएको छ। बरामद गरिएका सामग्रीहरूको बजार मूल्य अन्दाजी तेह्र लाख चवालिस हजार रुपैयाँ बराबर रहेको मूल्यांकन गरिएको छ।
उक्त अवैध सामानहरू कसले र के प्रयोजनका लागि भण्डारण गरेको हो भन्नेबारे थप अनुसन्धान भइरहेको छ।







