काठमाडौँ । इजरायलले दीर्घकालीन स्याहार केन्द्र (केयरगिभर) मा रोजगारीका लागि नेपालबाट १ हजार ११५ जना श्रमिक छनोट गरेको छ। छनोटमा परेका श्रमिकहरूको वरीयता सूची इजरायली पक्षले वैदेशिक रोजगार विभागलाई उपलब्ध गराएको छ।
विभागले प्राप्त सूचीका आधारमा छनोट भएका श्रमिकलाई इजरायल पठाउने थप प्रक्रिया अघि बढाउने जनाएको छ।
केयरगिभरका लागि प्रारम्भिक रूपमा २ हजार ३०० जनाको माग भए पनि अंग्रेजी भाषा परीक्षामा १ हजार २३१ जना मात्र उत्तीर्ण भएका थिए। तीमध्ये कागजात परीक्षणपछि १ हजार १४० जनाको विवरण इजरायलको जनसंख्या तथा अध्यागमन प्राधिकरण (पिबा) लाई पठाइएको थियो। प्राधिकरणले लक्की ड्र प्रक्रियामार्फत आवश्यक मापदण्ड पूरा गरेका १ हजार ११५ जनालाई अन्तिम रूपमा छनोट गरेको हो। छनोट भएकामध्ये ७५ प्रतिशत पुरुष र २५ प्रतिशत महिला रहेका छन्।
यसैबीच, पिबाले नेपालका लागि थप ८०० जनाको नयाँ कोटा पनि स्वीकृत गरेको छ। यसअघि पूरा हुन बाँकी रहेको १ हजार १८५ जनाको कोटा र नयाँ ८०० कोटा जोडेर अब १ हजार ९८५ जना थप श्रमिक छनोटका लागि पुनः अंग्रेजी भाषा परीक्षा सञ्चालन गरिने भएको छ।
पिबाकी निर्देशक शिर्ले राइसिन स्यासनले नेपालका लागि छुट्याइएको कोटाअनुसार छनोट प्रक्रिया छिट्टै अघि बढाइने जानकारी दिँदै नेपाल-इजरायल श्रम सम्झौताअनुसार पारदर्शी ढंगबाट श्रमिक छनोट भइरहेको र नेपाली श्रमिकलाई इजरायलमा स्वागत गर्न आफूहरू उत्साहित रहेको बताइन्।
नेपालका लागि इजरायलका राजदूत स्मुलिक एरी बासले पनि दुई देशबीचको श्रम सम्झौताको प्रभावकारी कार्यान्वयन भइरहेको उल्लेख गर्दै आगामी दिनमा कृषि तथा आवासीय क्षेत्रमा समेत नेपाली श्रमिक लैजान आवश्यक दुई वटा प्रोटोकल तयार पार्ने काम अघि बढिरहेको जानकारी दिए।







