इंग्ल्यान्डविरुद्ध दुई गोल गरेका फ्रान्सका कप्तान किलियन एमबाप्पे विश्वकपमा २२ गोलसहित सर्वकालीन सर्वाधिक गोलकर्ता बनेका छन्। जारी प्रतियोगितामा १० गोल गरेका उनी गोल्डेन बुटको दौडमा पनि शीर्ष स्थानमा छन्।
काठमाडौँ । फ्रान्सका कप्तान किलियन एमबाप्पे फिफा विश्वकप फुटबल इतिहासका सर्वाधिक गोलकर्ता बनेका छन्। सन् २०२६ को विश्वकपअन्तर्गत इंग्ल्यान्डविरुद्ध तेस्रो स्थानका लागि भएको खेलमा दुई गोल गर्दै उनले अर्जेन्टिनाका कप्तान लियोनल मेसीको कीर्तिमान तोडेका हुन्।
अमेरिकाको मियामी स्टेडियममा आइतबार बिहान भएको खेलमा एमबाप्पेले दोस्रो हाफमा दुई गोल गरेका थिए। उनले ४८औँ मिनेटमा गोल गर्दै मेसीको २१ गोलको कीर्तिमान बराबरी गरे भने ६७औँ मिनेटमा अर्को गोल थप्दै विश्वकपमा आफ्नो कुल गोल संख्या २२ पुर्याए।
एमबाप्पेले तीनवटा विश्वकपका २२ खेलमा २२ गोल गरेका छन्। मेसीले भने विश्वकपका ३१ खेलमा २१ गोल गरेका छन्। यससँगै २७ वर्षीय एमबाप्पे विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्।
तेस्रो स्थानको खेलमा फ्रान्स इंग्ल्यान्डसँग ६-४ गोलले पराजित भए पनि एमबाप्पेको व्यक्तिगत प्रदर्शन कीर्तिमानी रह्यो। इंग्ल्यान्डले पहिलो हाफमै चार गोल गरेको थियो। दोस्रो हाफमा फ्रान्सले खेलमा फर्कने प्रयास गरे पनि नतिजा आफ्नो पक्षमा पार्न सकेन। इंग्ल्यान्डका बुकायो साकाले ह्याट्रिक गरेका थिए।
एमबाप्पे जारी विश्वकपको सर्वाधिक गोलकर्ताको सूचीमा पनि शीर्ष स्थानमा छन्। उनको नाममा १० गोल छ भने अर्जेन्टिनाका मेसीले आठ गोल गरेका छन्। मेसीले स्पेनविरुद्धको फाइनल खेल्न बाँकी रहेकाले गोल्डेन बुट र विश्वकपको सर्वाधिक गोलसम्बन्धी प्रतिस्पर्धा भने अझै खुला छ।
एमबाप्पेले सन् २०२२ को कतार विश्वकपमा पनि आठ गोल गर्दै गोल्डेन बुट जितेका थिए। लगातार दुई विश्वकपमा कम्तीमा आठ गोल गर्ने उनी पहिलो खेलाडीसमेत बनेका छन्।







